२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। यही फागुन ११ गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको रकम कटौती गर्न निर्देशन दिएको थियो। साथै आयोगले वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गर्ने अधिकार संविधानअनुसार आफूमा निहीत रहेको स्पष्ट पारेको छ।

निर्णयमा उल्लेख छ, “संवैधानिक व्यवस्थामा निहीत अधिकार प्रयोग गरी आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गरी सिफारिस गरेको र उक्त संवैधानिक व्यवस्थाको अधिनमा रही आयोगले गरेको सिफारिस नेपाल सरकारले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने आयोगको बुझाइ छ। तसर्थ आर्थिक वर्ष २०८२/८३ का लागि आयोगबाट भएको सिफारिस तथा संघीय संसदबाट पारित बजेटबमोजिम रकम हस्तान्तरण गर्न अर्थ मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइन्छ।”

नेपालको संविधानको धारा ६० को उपधारा ९३० अनुसार प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने व्यवस्था राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा निहीत छ। धारा २५१ को उपधारा ९१० को खण्ड ९ख० ले पनि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने अधिकार आयोगलाई दिएको छ। यी संवैधानिक व्यवस्थाअनुसार आयोगले सिफारिस गरेअनुसार नै अनुदान उपलब्ध गराउनुपर्ने निष्कर्षमा आयोग पुगेको हो।

सरकारले भने लक्षित राजस्व सङ्कलन हुन नसक्दा अनुदान कटौती गर्नुपरेको जनाएको छ। “पुस मसान्तसम्म लक्ष्यको तुलनामा ८१ दशमलव ७५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको र सोही अनुपातमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको छ,” महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा उल्लेख छ। त्यसअनुसार तेस्रो त्रैमासिक किस्तावापत हुने २५ प्रतिशतमध्ये २० दशमलव ४३ प्रतिशत, अर्थात् कुल स्वीकृत वार्षिक बजेटको ७० दशमलव ४३ प्रतिशत नबढ्ने गरी अनुदान हस्तान्तरण गर्न निर्देशन दिइएको छ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि जारी गरेको ९५ बुँदे मार्गदर्शनमा पहिलो र दोस्रो किस्ता शुरु अनुमानबमोजिम तथा तेस्रो र चौथो किस्ता राजस्व सङ्कलनको अवस्थाका आधारमा निर्धारण गरिने उल्लेख छ। अर्थका अनुसार यस वर्ष रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्म रु पाँच खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख अर्थात् ३८ दशमलव ३८ प्रतिशत मात्र सङ्कलन भएको छ।

गत आर्थिक वर्षमा पनि अनुदान कटौती भएको थियो। त्यसबेला प्रदेश तथा स्थानीय तहले ठेक्का लागिसकेका र कार्यान्वयनमा गइसकेका योजना तथा कार्यक्रमको बजेट कटौती भएको भन्दै असन्तुष्टि जनाएका थिए। विरोधपछि महालेखा नियन्त्रक कार्यालयले तेस्रो किस्तासम्बन्धी निर्णय संशोधन गर्दै केही रकम निकासा गरेको थियो। चौथो किस्तामा समेत कटौती हुँदा प्रदेश र स्थानीय तहले कुल स्वीकृत वार्षिक बजेटको ९१ दशमलव ७६ प्रतिशत मात्र प्राप्त गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय