
पश्चिम एसियाली मुलुक साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। क्षेत्रीय तनाव बढेपछि दूतावास सेवा स्थगित गरिएको हो।
कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सबै नियमित तथा आपतकालीन कन्सुलर भेटघाट रद्द गरिएको जनाएको छ। दूतावास सामान्य अवस्थामा फर्किएपछि पुनः सम्पर्क गरिने उल्लेख गरिएको छ।
दुई दिनअघि कुवेतको एक बन्दरगाहमा इरानले आक्रमण गर्दा एक अमेरिकी कामदारको मृत्यु भएको थियो। अमेरिकी सेनाको सेन्टकमले सोमबार दिउँसो मृत्यु हुनेको संख्या बढेर ६ पुगेको घोषणा गरेपछि दूतावास बन्द गर्ने निर्णय गरिएको हो।
साउदी अरेबियास्थित अमेरिकी दूतावासमा पनि इरानले ड्रोन आक्रमण गरेपछि अर्को सूचना जारी नभएसम्म दूतावास बन्द रहने जानकारी दिइएको छ। त्यहाँबाट कुनै कन्सुलर सेवा उपलब्ध नहुने बताइएको छ।
अमेरिका र इजरायलले इरानमा हमला गरेपछि इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी दूतावास तथा हवाई शिविरलाई लक्षित गरी आक्रमण सुरु गरेको छ। आक्रमणका क्रममा अन्तर्राष्ट्रिय विमानस्थल, होटल र बस्तीमा पनि बम खसेको जनाइएको छ। मानवीय क्षति न्यून रहेको बताइए पनि खाडी मुलुकमा त्रास फैलिएको छ।
युद्धको असर अन्य देशहरूमा पनि परेको छ। उडान स्थगन, रोजगारी गुम्ने चिन्ता र अन्तर्राष्ट्रिय यात्रुहरू अलपत्र पर्ने समस्या देखिन थालेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
