
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामअनुसार नयाँ सरकार गठनको प्रक्रिया करिब दुई सातापछि सुरु हुने छ। पहिलो हुने प्रत्यक्ष निर्वाचित प्रणालीको अन्तिम परिणाम आइसके पनि समानुपातिक प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवारको टुंगो लाग्न समय लाग्ने भएकाले सरकार गठन ढिला हुँदैछ।
नेपालको संविधान, २०७२ को धारा ९३ (१) अनुसार राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। अधिवेशन आह्वान भएपछि मात्र नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त मत अनुसार दलले पाउने प्रतिनिधि सभा सदस्यको संख्या निर्क्यौल गर्नेछ। त्यसपछि दलहरूबाट प्राप्त नामको मिलान, त्रुटि सच्याउने र रुजु गर्ने प्रक्रियामा करिब तीन दिन लाग्ने छ। यसपछि आयोगले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउने छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार आयोगले राष्ट्रपतिलाई प्रतिवेदन पठाएपछि ३० दिनभित्र अधिवेशन आह्वान हुन्छ। प्रायजसो राष्ट्रपतिले एक साताभित्र अधिवेशन आह्वान गर्ने अभ्यास छ।
अधिवेशन सुरु भएपछि प्रतिनिधि सभाका २७५ सदस्यले शपथ लिनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेको हुँदा बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने प्रक्रियामा अगाडि बढ्ने छ त्यसको लागि पार्टी विधानअनुसार संसदीय दलको नेता चयनको प्रक्रिया पनि सम्पन्न हुनुपर्दछ ।
संसदीय दलको गठनपछि राष्ट्रपतिले बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
