२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि | काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका |

कास्कीको पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णबहादुर जैसी, सहकारीका व्यवस्थापक जगत पौडेल र सचिव विराज सुवेदी रहेका छन्। जैसी सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितसमेत हुन्। उनी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता खडा गरी ८२ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको सहकारी रजिस्ट्रारको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जैसीसहितको जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ। गत निर्वाचन प्रचारका क्रममा कास्की क्षेत्र नम्बर–३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई जैसीले छोराको विद्यालय शुल्क तिर्न नसकेको भन्दै बिल दिएको प्रसंग पनि जोडिएको छ। सूर्यदर्शन सहकारीमा पैसा डुबेका कारण शुल्क तिर्न नसकेको भन्दै उनले त्यसबेला साङ्केतिक रूपमा न्याय माग गरेका थिए।

प्रहरीले धनुष सहकारीका व्यवस्थापक पौडेल र सचिव सुवेदीलाई पनि सोमबार नै नियन्त्रणमा लिएको हो। प्रतिवेदनअनुसार सुवेदीले दुई करोड २५ लाख रुपैयाँ र पौडेलले एक करोड २५ लाख रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले भने, “अहिले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ, सहकारी रजिस्ट्रारको प्रतिवेदन र प्रहरीको छानबिनपछि थप तथ्य खुल्ने छन्।”

सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनले धनुष सहकारीको अपचलनमा १३ जनाको संलग्नता देखाएको छ। सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार सञ्चालकहरूले लामो समयसम्म हिसाबकिताब मिलान गर्न नसकेपछि आइतबार प्रारम्भिक छानबिन प्रतिवेदन प्रहरीलाई बुझाइएको हो।

उनका अनुसार धनुष सहकारीमा १५ महिनाअघि गरिएको छानबिनमा १९ करोड १८ लाख रुपैयाँ अनियमितता भेटिएको थियो। त्यसपछि केही रकमको हिसाब मिलान भएपछि हाल १२ करोड ५६ लाख रुपैयाँ बिगो कायम भएको छ।

रिजालले भने, “लामो समय दिँदा पनि उहाँहरूले हिसाब मिलान गर्न सक्नुभएन। हामीले व्यक्तिपिच्छे बिगो किटान गरी पठाएका छौँ।” गण्डकी प्रदेशमा सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीमा छानबिनका लागि पठाएको यो १९औँ सहकारी भएको पनि उनले जानकारी दिए। केही सहकारीमा बचत फिर्ता र मुद्दा मिलापत्रको प्रक्रिया पनि जारी रहेको छ।

यसैबीच, जैसी पक्राउ परेको विषयलाई रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग जोडिएको प्रति सूर्यदर्शन बचत तथा ऋण सहकारीले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै सहकारीले लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र नभएको स्पष्ट पारेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईसहित सात जनाविरुद्ध जैसीको नामबाट जाहेरी परेको थियो भने लामिछानेविरुद्धको पुरक जाहेरी गोविन्दप्रसाद अधिकारीले दिएका थिए।

सूर्यदर्शन सहकारीका अध्यक्ष किरण श्रेष्ठले जैसीको व्यक्तिगत विषयलाई संस्थाको मर्यादा र लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार नगर्न आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय