
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालस्थित विभिन्न मित्र राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग बुधबार सामूहिक भेट र संवाद गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, राजदूतहरूको जिज्ञासा मेटिनेगरी उनले स्पष्ट जवाफ दिएका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको यस भेटमा भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान, दक्षिण कोरिया, जापान, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू सहभागी थिए।

राजदूतहरूले प्रधानमन्त्री शाहलाई बधाई दिएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा सरकारका कार्यक्रममा सहयोग र समर्थनको प्रतिबद्धता जनाएका थिए। यस अवसरमा सरकारको चासो र कूटनीतिक सहयोगका विषयमा खुलेर छलफल भएको पनि स्रोतहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले नेपालले अपनाएको सन्तुलित र व्यावहारिक परराष्ट्र नीति दोहोर्याउँदै छिमेकी र मित्र राष्ट्रसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने आवश्यकतामा जोड दिएका छन्। उनले शान्ति र नेपाली श्रमिक तथा विदेशमा रहेका समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
यसैगरी उनले सुशासन, आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
