२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आज शनिबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

उल्लिखित प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन र तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौंमा साँझपख पानी पर्ने सम्भावना

मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज साँझपख हल्का वर्षा हुन सक्ने सम्भावना छ।

उनले काठमाडौंमा पानी पर्ने सम्भावना करिब ४० प्रतिशत रहेको जानकारी दिए।

ढकालका अनुसार बिहान घाम लागे पनि आकाशमा आंशिक बदली रहेको छ। दिनभर घाम र बादलको क्रम चलिरहने तथा दिउँसोपछि बादल बढ्दै जाने अनुमान गरिएको छ।

राति पनि वर्षाको सम्भावना

महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्छ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षाको मापन कसरी गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा मानिन्छ।

१० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा तथा १०० मिलिमिटरभन्दा बढी वर्षा भए धेरै भारी वर्षा भएको मानिने गरिएको छ।

त्यस्तै २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षा भएको मानिन्छ।

मौसमविद्का अनुसार ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना जनाइन्छ भने ‘थोरै स्थान’ भन्नाले १० देखि ३० प्रतिशत भूभाग बुझिन्छ।

३० देखि ५० प्रतिशत क्षेत्रमा पानी पर्ने सम्भावना भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘धेरै स्थान’ भन्ने शब्द प्रयोग गरिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय