२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

फिफा विश्वकपमा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। शुक्रबार भएको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको हो।

रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम १० मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै दक्षिण कोरियाले कठिन जित हात पारेको हो। खेलको अधिकांश समय कोरियाले दबाब बनाए पनि नतिजा अन्तिम क्षणसम्म अनिश्चित बनेको थियो।

पहिलो हाफमा दक्षिण कोरियाले खेलमा पकड बनाएर लगातार आक्रमण गरेको थियो। कप्तान सोन ह्युङ–मिनको नेतृत्वमा टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सफल भएन। उनको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास लक्ष्यभन्दा बाहिरिएको थियो।

दोस्रो हाफमा भने चेक गणतन्त्रले अग्रता लियो। लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए।

अग्रता लिएपछि चेक टोली उत्साहित देखिए पनि दक्षिण कोरियाले खेलमा पुनरागमन गर्‍यो। ६७औँ मिनेटमा ह्वाङ इन–बिओमले आकर्षक प्रहारमार्फत बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए।

बराबरीपछि आक्रामक बनेको दक्षिण कोरियाले ८०औँ मिनेटमा निर्णायक गोल निकाल्यो। ह्वाङ इन–बिओमकै पासमा प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले सहज फिनिस गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।

खेलको अन्त्यतिर चेक गणतन्त्रले बराबरी गोलको प्रयास गरे पनि दक्षिण कोरियाले आफ्नो अग्रता जोगाउन सफल भयो। अन्तिम सिटीसँगै कोरियाली खेलाडी र समर्थकले जितको खुसी मनाएका थिए।

यस जितसँगै दक्षिण कोरियाले विश्वकप अभियान सकारात्मक रूपमा सुरु गरेको छ। अब दक्षिण कोरियाले आफ्नो दोस्रो खेलमा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो।

पराजित चेक गणतन्त्रले भने आगामी खेलमा दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय