
मनसुनी वायुको प्रभाव क्रमश: कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिन्छ । त्यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी । तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ ।
महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ ।
बाहिरिन थालिसक्यो मनसुन : नेपालबाट पूर्वी वायु अर्थात मनसुन भने बाहिरिन सुरु गरिसकेको छ ।
हिजो असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो नै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।