२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

कहिल्यै कल्पना नगरिएको  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को लुङटुङ डाँडो कुनै दिन विश्वभर चिनिने छ भनेर। तर चार दशकअघिको त्यो चरनभूमि आज ‘पुनहिल’को नामले विश्व पर्यटकीय नक्सामा टाँसिएको छ।

समुद्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल आज केवल प्रकृतिप्रेमीको आकर्षण बनेको छैन, यो गाउँलेको भाग्य बदल्ने ठाउँ पनि बनेको छ। स्थानीय होटल व्यवसायी एवं गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुन भन्छन्, “मेजर टेकबहादुर पुनले त्यो समयमा देखेको सपना अहिले हजारौँको रोजगारी र गाउँको चिनारी बनेको छ।”

विसं २०३० तिर भारतीय सेनाबाट अवकाशप्राप्त मेजर टेकबहादुर पुनले लुङटुङको डाँडोमा पहिलोपटक पर्यटक ल्याएका थिए। त्यहीँबाट सुरु भयो पुनहिलको यात्रा। उनीकै पहलमा गाउँलेले गोठ, बाटो र टावर बनाए। २०३५ सालमा बनाइएको पहिलो काठको टावरले पर्यटकलाई आकर्षित गर्न थालेपछि गाउँलेको जीवनस्तर फेरियो।

२०५७ सालमा मेजर पुनका ज्वाइँ लेप्टेन राजु पुनको अग्रसरतामा हालको पक्की भ्यूटावर बनेपछि पुनहिलको नाम झन् चम्कियो। त्यही टावरबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरिलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।

पथप्रर्दशक रूपक रिमालका अनुसार, “पुनहिल यस्तो ठाउँ हो जहाँ प्रकृतिले आफ्नै रंग भरेको छ। चैतवैशाखमा लालीगुराँस फुल्छ, पुसमाघमा हिउँ खेल्न पाइन्छ। पर्यटकले यहाँ शान्ति र सौन्दर्य दुवै पाउँछन्।”

वार्षिक करिब ३० हजार पर्यटक आउने पुनहिल अहिले अन्नपूर्ण गाउँपालिकाको मुख्य आम्दानी स्रोत बनेको छ। गाउँपालिकाले यस वर्ष मात्र रु ५४ लाखमा प्रवेश शुल्क र चिया पसल सञ्चालनको ठेक्का सम्झौता गरेको छ। विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० तिर्नुपर्छ।

व्यवसायी सुदीप पुर्जा पुनका अनुसार, पछिल्लो समय जेनजी आन्दोलन र खराब मौसमका कारण पर्यटक आगमन केही घटेको छ। “गत वर्षको तुलनामा यो वर्ष संख्या कम भए पनि घोडेपानीमा आउने जो कोही पुनहिल पुग्नै चाहन्छ,” उनले भने।

हाल घोडेपानीमा २३ वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन्, जसले दैनिक एक हजारभन्दा बढीलाई बास दिन सक्छ। होटलबाटै हिमाल देख्न पाउने विशेषताले पर्यटक आकर्षित हुने गरेका छन्।

पुनहिल पुग्ने बाटोहरू पनि अब सहज भएका छन्। कास्कीको नयाँपुलदेखि घोडेपानीसम्म सडक विस्तार भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्का भन्छन्, “हामी पदमार्ग र सडक दुवै सुदृढ गर्दैछौं। पुनहिललाई पदयात्रा र सवारी यात्राको दुवै विकल्पका रूपमा विकास गर्ने लक्ष्य छ।”

एक गोठालाको दृष्टि र गाउँलेको श्रमले लुङटुङलाई पुनहिल बनायो। आज त्यो सपना साकार बनेको छ जहाँ सूर्योदयसँगै गाउँ चम्किन्छ, र जहाँ प्रत्येक पर्यटकले नेपाललाई आफ्नो मुटुमा लिएर फर्कन्छ।

असिम तिवारी
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय