लामो समयदेखि एकता प्रक्रियाप्रति असहमति जनाउँदै आएका नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल अन्ततः प्रचण्ड–माधवको पक्षमा उभिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा सभामा खनाल पनि सहभागी भएका छन् । सुरुदेखि नै एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका उनले अन्ततः सभामा पुगेर सबैलाई आश्चर्यचकित बनाएका हुन् ।
खनालले यसअघि पार्टी पुनर्गठनको तयारी गर्दै एमालेमा फर्किने संकेत दिएका थिए । मंगलबार मात्रै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए । तर ओलीले उनलाई तत्काल स्वागत गर्न नचाहेपछि खनालले दिशा परिवर्तन गर्दै एकताको सभामा सहभागी हुने निर्णय गरेका हुन् ।
सभामा ढिला पुगेका खनालले प्रचण्डप्रति विश्वास व्यक्त गर्दै भने, ‘मैले कमरेड प्रचण्डसँग कुरा गरिसकेको छु, उहाँले केही कुराहरू मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसकै विश्वासमा म यहाँ आएको हुँ ।’
उनले एकता प्रक्रियाप्रति केही असहमति रहेको स्वीकार गर्दै पनि अन्ततः कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउनैपर्ने बताएका छन् । ‘हामीले कहिल्यै फुटोस् भनेर चाहेका होइनौं, तर जे कुरा पस्यो त्यसलाई उखेलेर निकाल्नुपर्छ,’ उनले भने ।
सभामा खनालले माधव नेपालको नाम भने नलिँदै प्रचण्डलाई लालसलाम गर्दै सम्बोधन गरे । उनले भने, ‘देशमा समाजवादी क्रान्ति सम्पन्न गर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न हामी सबै एक ठाउँमा आएका हौँ ।’
यससँगै लामो समयदेखिको खनालको अनिश्चितता अन्त्य भएको र उनी औपचारिक रूपमा प्रचण्ड–माधव पक्षमै उभिएको स्पष्ट भएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
