२३ कात्तिक २०८२,
मंसिर अन्तिम साता एघारौं महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेभित्र नेतृत्वको बहस पनि सघन बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारणले पहिलेबाटै बहसमा रहेको एमाले नेतृत्वको एजेण्डा अहिले महाधिवेशनको मिति नजिकिएकाले थप बाक्लिएको हो ।
गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीले आफूलाई नेतृत्वबाट हटाउन कोही आए ‘झप्पु खाने’ चेतावनी दिएका छन् । ‘बघिनी चुप लागेको छ भनेर उसको डमरू चलाउन थाल्यो भने बघिनीले यस्तो दिन्छ नि झप्पु,’ ओलीले भने, ‘म पनि चुपै लागेर बसेको हुन्छु, उदार हुन्छु, नरम हुन्छु । पार्टीतिर सिध्याउन खोज्यो, पार्टी निचोर्न खोज्यो भने झप्पु (हातले आक्रमणको इसारा गर्दै) । जति नरम भए पनि गर्नैपर्ने रहेछ ।’
नेताहरूका अनुसार अहिले उनै विद्या भण्डारीकै नेतृत्वमा ओलीविरुद्ध महाधिवेशनमा भिड्ने टीम तयार हुँदैछ । ‘४५ वर्ष पहिले मदन भण्डारीको हातबाट लिएको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्छ भनेर यो बीचमा धेरै प्रयास गरियो,’ भण्डारी निकट एक नेता भन्छन्, ‘पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, पार्टीका तलका सदस्यहरू र समर्थकहरूले भन्नुभयो । तर सुनुवाइ भएन ।’
एमालेका एक पदाधिकारीका अनुसार पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेद्वारका रूपमा अगाडि बढाइसकेकी छन् । ‘उपयुक्त समय पारेर उहाँले (विद्या भण्डारी) सार्वजनिक घोषणा गर्नुहुन्छ, अनौपचारिक तयारी अगाडि बढिसकेको छ,’ उनी भन्छन् ।
