अन्तरिम सरकारको बागडोर सम्हालेको दुई महिना पूरा हुँदा पनि प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताबीचको दूरी अझै घट्न सकेको छैन। फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी बोकेकी प्रधानमन्त्री कार्कीले दलहरूलाई विश्वासमा लिन सक्नु पर्ने बेला उल्टै सम्बन्ध जटिल बन्दै गएको देखिन्छ।
भदौ २३ को जेनजी आन्दोलनपछि गणतन्त्र इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की शुरुदेखि नै जेनजी अभियन्ता र नागरिक अगुवासँग निकट देखिइन्। यही निकटताका कारण पनि दल–सरकारबीच विश्वासको खाडल बढ्दै गएको विश्लेषकहरूको ठम्याइ छ।
प्रधानमन्त्रीले अहिलेसम्म दुईपटक मात्रै संवादको पहल गरे पनि दुवैपटक शीर्ष नेताहरू सहभागी हुन इच्छुक भएनन्। पहिलो बैठकमा जेनजी प्रतिनिधिलाई पनि बोलाइएको भन्दै नेताहरूले असन्तुष्टि प्रकट गरेका थिए। दोस्रो संवादका लागि समेत दलका शीर्ष नेता जान नमान्दा कांग्रेसबाट गगन थापा, प्रकाशशरण महत; एमालेबाट प्रदीप ज्ञवाली, महेश बर्तौला; र नेकाबाट राजेन्द्र पाण्डे तथा वर्षमान पुन मात्र सहभागी हुने तय भएको छ।
दलका नेताहरूले प्रधानमन्त्रीले आफूहरूलाई बाइपास गरेको, राजनीतिक प्रक्रियामा लचकता नदेखाएको र सरकारको कार्यशैलीले अपेक्षा पूरा गर्न नसकेको आरोप लगाइरहेका छन्। जेनजी आन्दोलनका बेला कार्कीले लेखेका केही स्टाटसमाझ प्रति पनि नेताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
उता, जेनजी अभियन्ताहरूले भने शीर्ष नेताहरूलाई भेट्नै नहुने भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिएको खुलेको छ। उनीहरूको भनाइमा दलका नेतृत्वले ‘अटोक्रेसी’ चलाइरहेका कारण भेटघाटले केही समाधान नआउने विश्वास छ।
यसैबीच, सरकारप्रति दलहरूको आशंका थपिदै गएको छ। चुनाव हुने–नहुनेबारे पनि दलहरू स्पष्ट छैनन्। कांग्रेस र एमाले दुवै संसद् पुनःस्थापनाको लाइनमा उभिएका छन्। सरकारले दुई महिनासम्म मन्त्रिपरिषद् पूर्णता दिन नसक्नु, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नहुनु र कूटनीतिक निर्णयहरू सर्वोच्चले रोक्नुले पनि असन्तोष गहिरिंदै गएको छ।
जेनजी अभियानमै सुशासन र पारदर्शिताको कुरा उठाइएकाले वर्तमान सरकारबाट अपेक्षा बढेको भए पनि व्यवहारमा त्यस्तो देखिन नसक्दा अभियन्ता स्वयंले पनि आलोचना गर्न थालेका छन्।
यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री कार्कीले कांग्रेसका युवा नेतासँग मात्र भेट गरेर छलफल अघि बढाउने प्रयास गरेकी छन्। उनीहरूले सबै दललाई विश्वासमा लिएर समयमा नै निर्वाचन गराउन आग्रह गरेका छन् तर, ठूला दल र प्रधानमन्त्रीबीचको यही टाढोपन कम नभएसम्म आगामी राजनीतिक मार्गचित्र अझै अनिश्चित देखिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
