नेपाल र यूरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकमा दुवै देशबीचको विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क, र बहुपक्षीय सहकार्यसम्बन्धी प्रमुख मुद्दामा विस्तृत छलफल गरिएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।
बैठकमा नेपाल–ईयू सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै विकास साझेदारीका बहु–आयामिक पक्षबारे कुराकानी भयो । यूरोपेली सङ्घले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन र सेवाप्रवाह सुधारतर्फ देखाएको प्रतिबद्धताको प्रशंसा पनि गरेको छ ।
नेपालले दिगो विकास लक्ष्यसम्बन्धी प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी अभिवृद्धिका क्षेत्रमा सहकार्य अझै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्यो । साथै, सङ्क्रमणकालीन न्याय प्रक्रियालाई कानुनअनुसार छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि दोहोर्यायो ।
यूरोपेली सङ्घले नेपाललाई एलडीसीबाट स्तरोन्नतिमा सहयोग पुर्याउन बनेको सङ्क्रमणकालीन रणनीतिलाई स्वागत गर्दै बहुवर्षीय कार्यक्रममार्फत निरन्तर सहयोग दिने आश्वासन दियो । हवाई सुरक्षा सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपालले हालैको यूरोपेली मूल्याङ्कन भ्रमणमा उठाइएका प्रश्न समाधान गर्ने प्रतिबद्धता जनायो र नेपाली एयरलाइन्सलाई ईयूको एयर सेफ्टी सूचीबाट हटाइदिन पुनः अनुरोध गर्यो ।
संयुक्त आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा दुवै पक्षको सहमतिमा हुने भएको छ । बैठकको सहअध्यक्षता नेपालतर्फ परराष्ट्र सचिव अमृतबहादुर राई र युरोपेली सङ्घतर्फ कार्यवाहक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले गरेका थिए ।
