२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

१,063 मेगावाट क्षमताको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर छुट्याउने प्रस्ताव अघि सारिएको छ।

आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ। हालको विनिमय दर (प्रति डलर १४१ रुपैयाँ) अनुसार यसको कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ पुग्ने प्राधिकरणले जनाएको छ। निर्माण अवधिको व्याजसहित लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ हुन्छ।

नेपाल विद्युत प्राधिकरणको अग्रसरमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्न लागेको उक्त आयोजनाको ३० प्रतिशत (७१ अर्ब ९४ करोड) स्वःपूँजी र ७० प्रतिशत ऋण संरचनासहित वित्तीय ढाँचा तयार गरिएको छ। निर्माण अवधि ७ वर्ष र वार्षिक व्याजदर ७ प्रतिशत रहने उल्लेख गरिएको छ।

ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रवर्धक कम्पनी अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडको वित्तीय व्यवस्थापन प्रस्ताव अनुमोदन गरी सरकारले आवश्यक निर्णय गर्न पठाएको छ। मन्त्री घिसिङले आयोजनामा एनआरएन, प्रवासी नेपाली, प्रभावित क्षेत्र र सर्वसाधारणलाई समावेश गर्ने गरी “स्वदेशी लगानीमा ठूला आयोजना अघि बढाउने” लक्ष्य रहेको बताए।

स्वःपूँजीको ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत साधारण सेयरबाट जुटाइने प्रस्ताव गरिएको छ। संस्थापक समूहले ३६ अर्ब ६९ करोड र साधारण सेयरबाट ३५ अर्ब २५ करोड रुपैयाँ जुटाइनेछ।

४९ प्रतिशत साधारण सेयरको विभाजन यसप्रकार छः

  • १८% — एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपाली

  • १०% — प्रभावित क्षेत्र तथा सङ्खुवासभाबासी

  • १८% — देशभरका सर्वसाधारण

  • २% — पिछडिएको क्षेत्र

  • बाँकी — प्रवर्धक निकायका कर्मचारी

आयोजनामा विद्युत प्राधिकरणको ४१ प्रतिशत संस्थापक लगानी रहनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, टेलिकम, बीमा तथा पुनर्बीमा कम्पनीहरूले पनि संस्थापकतर्फ लगानी गर्ने प्रस्ताव छ।

वित्तीय व्यवस्थापनलाई सहज बनाउन ४५ प्रतिशत ऋण सहुलियतपूर्ण सहवित्तीयकरणमार्फत जुटाइनेछ, जसबाट ७५ अर्ब ५३ करोड जुट्ने अनुमान छ। त्यस्तै ३० प्रतिशत बराबरको ५० अर्ब ३६ करोड ऊर्जा बण्ड निष्कासनबाट संकलन गरिने प्रस्ताव गरिएको छ।

आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने प्रक्षेपण छ। व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने र मूल्यवृद्धिसँगै आयोजना अवधिभर ३४ अर्ब ५९ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

हाल आयोजनास्थलसम्म २१ किलोमिटर लामो पहुँच सडक निर्माण भइरहेको छ। भौगोलिक रूपमा जटिल क्षेत्रका कारण निर्माणपूर्वका काम चुनौतीपूर्ण रहे पनि प्राधिकरणले आयोजनालाई ‘जनताको जलविद्युत’ मोडेलमै अघि बढाइने बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय