नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै अंकतालिकामा माथि उठेको छ। चौथो जितसँगै काठमान्डुले ८ अंक जोड्दै प्लेअफ प्रवेश नजिक पुगेको छ।
६ खेलमा ४ जित र २ हार निकालेको काठमान्डु रनरेटको आधारमा विराटनगर किंग्समाथि अगाडि छ। सुदूरपश्चिम पाँच खेलमा १० अंकसहित प्लेअफमा प्रवेश गरिसकेको छ।
पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। सातौं नम्बरमा ब्याटिङ आएका गुल्सनले २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। पवन सराफले ३५ र मार्क वाटले ३० रनको योगदान दिए।
काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै लक्ष्य पूरा गर्यो। जेरार्ड एरासमसले ३३ बलमा २ चौका र ३ छक्का सहित ४३ रन अविजित बनाएका थिए भने जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्का मार्दै ४१ रन जोड्दा चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरे।
बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सराफले १ विकेट लिए। कर्णालीको पाँच खेलमा चौथो हार भएपछि प्लेअफ सम्भावना अहिले कठिन बन्दै गएको छ।
यस जितसँगै काठमान्डु प्लेअफको दौडमा मजबुत बनेको छ भने कर्णालीले आगामी खेलमा जित निकाल्नैपर्ने चुनौती पाएको छ।
