नेपाल प्रिमियर लिग (एनपिएल) आज महत्वपूर्ण चरणमा प्रवेश गर्दैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स एकअर्कासँग निर्णायक भिडन्तमा उत्रिन लागेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज अपराह्न ४ बजे हुने खेलले प्रत्यक्ष रूपमा फाइनल यात्राको बाटो तय गर्नेछ। लिग चरणको उत्कृष्ट प्रदर्शनका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा र विराटनगर दोस्रो स्थानमा उक्लँदै क्वालिफायरको सुनिश्चित गर्दै आएका हुन्।
सुदूरपश्चिमले लिगका सात खेलमध्ये छ खेल जितेर बलियो उपस्थितिको प्रमाण दिएको थियो। तर, उनीहरूका लागि एक मात्र हार विराटनगरले नै दिएको थियो, जसले आजको खेलमा मनोवैज्ञानिक दबाब पनि थपेको छ। यता विराटनगरले सातमध्ये पाँच खेल जितेको र चितवन तथा लुम्बिनीविरुद्ध मात्र हार व्यहोर्दै प्रतिस्पर्धी टोलीहरूको मूल्यांकन गराइसकेको छ।
आजको भिडन्तमा जित निकाल्ने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीका लागि पनि यात्रा रोकिने छैन, उनीहरू इलिमिनेटर खेलमार्फत पुनः फाइनल प्रवेशको दोस्रो अवसर पाउनेछन्।
एनपिएलको दोस्रो संस्करणमा आजको खेल ‘फाइनलपूर्वको फाइनल’ जस्तै मानिँदै छ, किनकि दुवै टोली बलियो फर्म, उत्कृष्ट प्रदर्शक र प्रतिशोध तथा प्रतिष्ठाको भावनासहित मैदानमा उत्रिंदैछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
