२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

लगातार हारको दबाब, समर्थकको आलोचना र बाहिरिने संघार—यी सबैलाई पछि पार्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ । शनिबार टीयू क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले ऐतिहासिक उपाधि चुम्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमै ८५ रनमा अलआउट भयो । लुम्बिनीको स्पिन आक्रमणसामु सुदूरपश्चिमका ब्याटर टिक्न सकेनन् । ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्न सके । अन्य ब्याटरहरू दोहोरो अंकमा समेत पुग्न सकेनन् ।

लुम्बिनीका कप्तान रोहित पौडेलले फाइनलमा ह्याट्रिक पूरा गर्दै इतिहास रचे । उनले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिँदै एनपीएलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३–३ विकेट लिए भने तिलक भण्डारीले एक विकेट हात पारे ।

८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ओपनर दिनेश अधिकारीले १३ बलमा आक्रामक ४२ रन बनाउँदै जितको आधार तयार पारे । कप्तान रोहित पौडेलले १८ रन जोडे भने निरोशन डिक्वेला ११ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अभिनास बोहरा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट झारे ।

यो उपाधि जित लुम्बिनीका लागि केवल फाइनलको जित मात्र होइन, संघर्षको कथा पनि हो । पहिलो सिजनमा एक मात्र जित निकाल्दै तालिकाको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजनमा पनि लगातार तीन हारपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । त्यही अवस्थाबाट लुम्बिनीले लगातार ६ खेल जित्दै च्याम्पियन बन्न सफल भयो ।

लगातार हारपछि कप्तान रोहित पौडेलले रणनीतिमा ठूलो परिवर्तन गरे । पेस बलर घटाउँदै स्पिन बलिङलाई प्राथमिकता दिइयो । प्लेइङ–११ मा गरिएको परिवर्तन र स्पिन विभागलाई दिइएको जिम्मेवारीले लुम्बिनीको भाग्य नै बदलिदियो । पछिल्ला खेलहरूमा स्पिनरहरू हाबी हुँदा लुम्बिनीको ब्याटिङ पनि क्रमशः लयमा फर्कियो ।

फाइनलसहित प्लेअफका खेलहरूमा लुम्बिनीको स्पिन आक्रमण निर्णायक बन्यो । काठमाण्डु गोर्खाज र विराटनगर किंग्सजस्ता टोलीहरू पनि कम स्कोरमै समेटिए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल उदीयमान खेलाडी घोषित भए । कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर बने ।

यसरी आलोचना, दबाब र असफलताको घेराबाट बाहिर निस्कँदै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ मा आफूलाई च्याम्पियनको रूपमा स्थापित गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय