चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक पाँच महिनामा सरकारको विकास खर्च अपेक्षाकृत कमजोर देखिएको छ। मंसिर मसान्तसम्म सरकारले कुल पुँजीगत बजेटको आठ प्रतिशत मात्र खर्च गर्न सकेको तथ्यांक सार्वजनिक भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्म पुँजीगत शीर्षकमा जम्मा ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
चालु खर्चतर्फ भने वार्षिक ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन रहेकामा हालसम्म ३३ दशमलव ७ प्रतिशत अर्थात् ३ खर्ब ९८ अर्ब ४ करोड ७२ लाख रुपैयाँ खर्च भइसकेको छ। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको विनियोजनमध्ये ३५ दशमलव ३२ प्रतिशत अर्थात् १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ।
यसरी मंसिर मसान्तसम्म सरकारको कुल खर्च वार्षिक बजेटको २८ दशमलव ७४ प्रतिशत पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म ५ खर्ब ६४ अर्ब ४६ करोड १२ लाख रुपैयाँ खर्च भएको हो।
खर्चसँगै राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा पाँच महिनामा २७ प्रतिशत मात्र, अर्थात् ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ।
मंसिर मसान्तसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहे पनि वास्तविक संकलन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशतमा सीमित भएको छ। मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड रुपैयाँ कर उठाउने लक्ष्य लिइएकोमा ८४ दशमलव ३१ प्रतिशत अर्थात् ८० अर्ब २७ करोड रुपैयाँ मात्र असुली भएको देखिएको छ।
हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् ३ खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ भने गैरकर राजस्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् २४ अर्ब ७ करोड रुपैयाँ प्राप्त भएको छ।
यसैगरी, चालु वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य लिइएकोमा हालसम्म ९ दशमलव ५८ प्रतिशत अर्थात् ५ अर्ब १२ करोड १० लाख रुपैयाँ मात्र प्राप्त भएको छ।
सरकारको हालसम्मको आम्दानी र खर्चको अवस्था हेर्दा बजेट घाटा करिब डेढ खर्ब रुपैयाँ पुगेको छ। प्राप्त आम्दानीको तुलनामा खर्च १ खर्ब ४९ अर्ब ५५ करोड ८५ लाख रुपैयाँले बढी रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
