आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ बुधबारदेखि फिल्डमा खटिने भएका छन्।
भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका १ लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन्। नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गत माघ १८ गते नियुक्तिपत्र दिएको थियो। उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले तालिम पूरा गरेका उनीहरूलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको जानकारी दिनुभयो।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने छन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने भएको छ।
सेनाले सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको जिम्मेवारी सम्हाल्ने छ।
