
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस धादिङमा त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको ज्यान गएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरेर विभिन्न अस्पतालमा पठाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा विदेशी पर्यटक पनि परेका छन्। एक जना न्यूजील्याण्डका नागरिक रहेको जानकारी दिइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। बस पूर्ण रूपमा क्षतविक्षत अवस्थामा भेटिएको थियो।
घटनास्थलबाट यात्रुहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म सारिएको थियो। त्यसपछि सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धार कार्य कठिन बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्। ‘प्रहरीहरूले टर्च बालेर घाइतेको उद्धार गर्यौं। उद्धार सामग्री पर्याप्त नभएको जस्तो महसुस भयो,’ उनले घटनास्थलबाट बताएका छन्।
उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई जीवित उद्धार गरी अस्पताल पठाइएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि परिचालन गरिएको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
