
धादिङमा सोमबार बिहान भएको बस दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलले दुर्घटनाको गम्भीर अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात तथा सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौंडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो। बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा बसमा सवार ४४ जनामध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको समन्वयमा उद्धार कार्य गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार मृतकहरूको शव नदीबाट निकालेर सनाखत गर्ने काम भइरहेको छ। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
