
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।
दुलालका अनुसार आजको बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजना मुख्य एजेण्डा रहनेछन्।
सभापति थापाले बुधबार पदबाट राजीनामा दिएका थिए। उनी गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।
यसैबीच, उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भए पनि अहिलेको मुख्य दायित्व स्थिति सम्हाल्नु हो” उल्लेख गरेका छन्।
शर्माले बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने जानकारी दिएका छन्। उनले “डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन” भन्दै सभापति थापाको पक्षमा धारणा सार्वजनिक गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
