
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर रिक्त रहेका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
बिहीबार मन्त्रालयले निर्णय गर्दै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई ती रिक्त स्थानहरूमा खटाइएको जनाएको छ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रतिभा रावलले स्थानीय तहमा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएकी छन्। यसअन्तर्गत सोमबार ६३ जना उपसचिव र मङ्गलबार ६ जना सहसचिवको सरुवा समेत गरिएको थियो।
यसअघि नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका केही कर्मचारीले काठमाडौं बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले सबैलाई तोकिएको स्थानमा खटिन आग्रह गरेकी थिइन्।
उनले जनतालाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारले खटाएको स्थानमा जान नमान्ने छुट कसैलाई नभएको स्पष्ट पारेकी छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
