
निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
नेपाल निर्माण व्यवसायी संघको १३औँ अधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन पुगेका कटुवाल पक्राउ परेपछि उनलाई जिताउन गएका निर्माण व्यवसायी निराश भएर फर्किएका छन्।
सीआईबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ह्याक गरी ठूला ठेक्का कब्जा गर्ने गिरोहबारे दुई महिनादेखि अनुसन्धान गर्दै आएको थियो। सोही अनुसन्धानका क्रममा कटुवालको संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो।
अनुसन्धान अनुसार बोलपत्र डटकम डट एनपीमार्फत सञ्चालन हुने अनलाइन प्रणाली ह्याक गरी अरूले पेस गरेका प्रस्ताव हेर्ने र समयसीमा सकिनुअघि केही मिनेट मात्र बाँकी हुँदा सबैभन्दा कम दर राखेर ठेक्का हात पार्ने तरिका अपनाइएको पाइएको छ।
यस प्रकरणमा कटुवाल मात्र होइन, यसअघि पनि केही निर्माण व्यवसायी पक्राउ परिसकेका छन्। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को करिब १० अर्ब रुपैयाँको ठेक्कासमेत यस्तै तरिकाले ह्याक भएको पाइएपछि सीआईबीले अन्य कम्पनी र व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
