
संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले कार्यदल गठन गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ।
बैठकमा उठेका विषयहरू तथा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने जिम्मेवारी तोकिएको छ। साथै कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मेवारी सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लिलाधर सुवेदीलाई दिइएको छ।
संयोजक साहले संविधान संशोधनसम्बन्धी विषयलाई व्यापक रूपमा अघि बढाउने लक्ष्य रहेको जानकारी दिए। उनले संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने स्पष्ट पारे।
उनका अनुसार नेपालको संविधानको धारा २७४ मा संशोधनसम्बन्धी प्रावधान स्पष्ट रूपमा उल्लेख गरिएको छ। सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको उनले बताए।
साहले चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरण गराए। सोहीअनुसार चैत १६ गते कार्यदल गठन गरिएको थियो।
उनका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल हुने जनाइएको छ।
प्रधानमन्त्रीको तर्फबाट सबै राजनीतिक दल र नागरिकलाई विश्वास दिलाउँदै सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। बैठकमा सहभागीहरूले खुला रूपमा बहस गर्दै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेकपाका देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल उपस्थित थिए।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहालको पनि सहभागिता रहेको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
