
प्रतिनिधिसभाका दशवटा र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा उनीहरूले सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष शपथ ग्रहण गरेका हुन्।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा विभिन्न राजनीतिक दलका संसदीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का चयन भएका छन्।
त्यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की निर्वाचित भएका छन्।
शिक्षा समिति र राज्य निर्देशक सिद्धान्त सम्बन्धी समितिमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका थिए। समितिको बैठकको अध्यक्षता सम्बन्धित ज्येष्ठ सदस्यले गरेका थिए।
निर्वाचित १२ सभापतिमध्ये ११ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका छन् भने सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का चयन भएका छन्।
शपथ ग्रहणपछि नवनिर्वाचित सभापतिहरूले शुक्रबार नै आ–आफ्नो समितिको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
