२०८३ बैशाख १० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अबदेखि सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य | महान्यायाधिवक्ता नियुक्ति विवाद : डा. नारायणदत्त कँडेलबारे सर्वोच्चको ‘कारण देखाउ’ आदेश | १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य, ऊर्जा रूपान्तरणको नयाँ रणनीति प्रस्तुत | वीरगन्जमा सडक विस्तारपछि भाडा बढेपछी नबढाउन महानगरको अनुरोध | ‘विशेष कारण’ देखाउँदै वैशाख १७ को संसद अधिवेशन रोकियो | संविधान संशोधनको तयारी तीव्र बहसपत्र तयार गर्न कार्यदलको बैठक जारी | सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम | यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा | अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै | मिथ्या समाचारप्रति सरकार कडा, आधिकारिकता बिना सूचना नफैलाउन आग्रह |

ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित तयार पारिएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमक्ष प्रस्तुत गरिएको छ। मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन बिहीबार मन्त्रीलाई हस्तान्तरण गरिएको हो।

मन्त्रिपरिषद्ले चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत ऊर्जा खपत र निर्यात रणनीति तयार पार्ने निर्णयपछि यो अध्ययन अघि बढाइएको थियो। सोही निर्णयअनुसार मन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका थिए।

रणनीतिमा देशभित्र विद्युत् खपत उल्लेख्य रूपमा बढाउने र खपतपछि बाँकी ऊर्जा निर्यात गर्ने दीर्घकालीन योजना प्रस्तुत गरिएको छ। शतप्रतिशत घरधुरीमा विद्युतीकरण पुर्‍याउने, प्रसारण तथा वितरण प्रणालीमा सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

घरायसी प्रयोगमा विद्युतीय उपकरणको प्रयोग बढाउने, मिटर तथा ट्रान्सफर्मरको क्षमता विस्तार गर्ने र एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने नीति पनि रणनीतिमा समेटिएको छ।

हाल प्रतिव्यक्ति विद्युत् खपत करिब ४५० किलोवाट घण्टा रहेकोमा आगामी १० वर्षभित्र यसलाई बढाएर १,५०० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य राखिएको छ।

यस्तै, सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने र देशभर चार्जिङ स्टेशन विस्तार गर्ने प्रस्ताव गरिएको छ। उद्योगहरूमा प्रयोग भइरहेका कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीमार्फत प्रतिस्थापन गर्ने योजना पनि अघि सारिएको छ।

ऊर्जा खपत वृद्धि गर्न ‘सिजनल’ (ऋतुगत) विद्युत् महसुल दर लागू गर्ने अवधारणा समेत प्रस्तुत गरिएको छ। यसबाट ऊर्जा उपयोगको दक्षता बढ्ने, व्यापार घाटा घट्ने र विदेशी मुद्रा सञ्चिति सुदृढ हुने अपेक्षा गरिएको छ।

उत्पादनतर्फ जलाशययुक्त तथा अर्ध–जलाशययुक्त जलविद्युत् आयोजनाको हिस्सा बढाउँदै सुक्खा र वर्षायामबीचको उत्पादन असन्तुलन समाधान गर्ने लक्ष्य लिइएको छ। साथै, अन्तरदेशीय प्रसारण लाइन विस्तारमार्फत क्षेत्रीय बजारमा विद्युत् निर्यात बढाउने योजना अघि सारिएको छ।

रणनीतिअनुसार उच्च माग हुने समय, विशेषगरी साँझको समयमा केन्द्रित भएर विद्युत् निर्यात गरी बढी आर्थिक लाभ लिन सकिने उल्लेख गरिएको छ। आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ।

रणनीतिले सम्भावित जोखिमहरूको पहिचान गर्दै व्यवस्थापनका उपायहरू पनि प्रस्ताव गरेको छ। विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने र नेपाल विद्युत् प्राधिकरणमा संरचनात्मक सुधार गरी कार्यक्षमता बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।

रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन प्रणाली लागू गरिने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय