
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा दिएको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिलाई गम्भीर रूपमा आपत्तिजनक र राष्ट्रहितविपरीत भएको बताएका छन्।
लुम्बिनी प्रदेशको रूपन्देहीमा सोमबार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गरेका हुन्। उनले उक्त अभिव्यक्तिलाई कांग्रेसले पूर्ण रूपमा निन्दा गर्ने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। यही भनाइलाई लिएर थापाले सरकार प्रमुखबाट आएको यस्तो अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाएको आरोप लगाए।
थापाले प्रधानमन्त्रीलाई संसद्मा उभिएर आफ्नो भनाइ सच्याउँदै माफी माग्न आग्रह गरे। उनका अनुसार, यदि प्रधानमन्त्रीले गल्ती स्वीकार नगरे त्यसले संविधान, लोकतान्त्रिक जवाफदेहिता र राष्ट्रिय हितमाथि गम्भीर प्रश्न उठाउनेछ।
उनले भने, “संसदमा उभिएर भन्नुस्— मैले नजानेर गल्ती बोलेँ, माफी माग्छु। सकियो कुरा। तर ‘मैले जे बोलेँ ठिक बोलेँ, मसँग संख्या छ’ भन्नुभयो भने याद राख्नुस्, तपाईँ प्रधानमन्त्री हो, भगवान् होइन।”
सीमा जस्तो संवेदनशील विषयमा तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजबिना बोल्नु गैरजिम्मेवार कार्य भएको थापाको टिप्पणी छ। उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत मात्र नभई राष्ट्रिय अखण्डतामाथिको चोटका रूपमा व्याख्या गरे।
उनका अनुसार, २०७४ सालमा सबै दलको सहमतिमा संसद्ले पारित गरेको नयाँ नक्सा र त्यससँग सम्बन्धित राष्ट्रिय अडानलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएका छन्।
थापाले भने, “तथ्य र प्रमाणबिना यस्तो टिप्पणी गर्नु केवल राजनीतिक गल्ती होइन, राष्ट्रिय संवेदनशीलतामाथिको प्रहार हो।”
प्रधानमन्त्रीले नबुझेर बोलेको भए त्यो चिन्ताजनक हुने र बुझेरै बोलेको भए झनै खतरनाक हुने उनको भनाइ थियो। उनले प्रधानमन्त्रीले सीमा विवादबारे सामान्य राजनीतिक सुझबुझ समेत नदेखाएको आरोप लगाए।
कार्यक्रममा थापाले आइतबार संसद्बाट बहुमतको आधारमा नियमावली पारित गरिएको घटनालाई पनि आलोचना गरे। संसद् सञ्चालनसम्बन्धी अभ्यास तोडिएको भन्दै उनले यसलाई लोकतान्त्रिक संस्कृतिविपरीत कदम भने।
उनले भने, “संसद् सञ्चालनको नियम बनाउने प्रक्रियामा हिजोको दिन नेपाली संसद्को इतिहासमा कालो दिनका रूपमा दर्ज भएको छ।”
थापाले प्रतिपक्षको आवाजलाई बेवास्ता गर्दै नियमावली पारित गर्नु लोकतान्त्रिक अभ्यास कमजोर बनाउने संकेत भएको बताए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
