
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि संसदमा विवाद उत्पन्न भएको छ। यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले रास्वपासँग सभामुखको ‘नाभी अझै काटिएको छैन’ भन्दै टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको आरोप पनि उनले लगाएका थिए।
यादवको भनाइ लगत्तै रास्वपा सांसद कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ (ख) तर्फ ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका थिए। उनले सभामुखको आचरण र भूमिकामाथि प्रश्न उठाउने खालको अभिव्यक्ति भएको भन्दै उक्त टिप्पणी संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन्।
कार्कीको आपत्तिपछि सभामुख देवराजप्रसाद अर्यालले पनि उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
सभामुखले बैठकमा भने, ‘उहाँले बोल्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु।’
सांसद यादवको अभिव्यक्तिपछि सदनमा केहीबेर संसदीय मर्यादा, नियम र सभामुखको भूमिकाबारे चर्चा भएको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
