
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोका कारण भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ । आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न पनि प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
