अविरल वर्षाका कारण जाजरकोट र रोल्पाका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । विपद्का घटनामा परी सातजना घाइते भएका छन् ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी स्थानीय केदार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
जाजरकोटमै पहिरोमा परी भेरी नगरपालिका–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता तीनै जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परी जाजरकोटमा सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने दुईजनालाई थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी क्षेत्र जोखिममा परेका छन् । वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीसमेत बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।
यसैबीच, रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
बिहान करिब ३ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट अचानक पहिरो खस्दा घर पुरिएर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोटमा जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरेको छ । बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार तथा जोखिममा रहेका बस्तीको अवस्थाबारे जानकारी संकलन गर्न सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए ।
प्रशासनले प्रभावित तथा जोखिममा रहेका क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
