कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो ।
असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घटेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।
असोजको तुलनामा कात्तिकमा १५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन् ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
