नेपाल स्काउटले काठमाडौंको लैनचौरस्थित आफ्नो जग्गा र संरचना प्रयोग गर्दै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता भाडा तिर्न अन्तिम चेतावनी दिएको छ।
स्काउटको सार्वजनिक सूचनाअनुसार, तोकिएको समयभित्र भाडा चुक्ता नगरेमा कम्पनीका सम्पूर्ण भवन र सामानहरू जफत गरिनेछ। जफतबाट उठ्ने रकम पर्याप्त नपरेमा अन्य घरघराना वा जायजेथाबाट असुल गरिने पनि सूचनामा उल्लेख छ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि. नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको कम्पनी हो। कम्पनीले लामो समयदेखि भाडा नतिरेको र सम्झौताविपरीत जग्गा कब्जा गरेको कारण स्काउटलाई आर्थिक र व्यवस्थापकीय क्षति पुगेको छ।

स्काउट र कम्पनीबीच २०६५ सालमा १० वर्षको जग्गा भाडा सम्झौता भएको थियो। सम्झौता अवधि २०७५ सालमा सकिए पनि कम्पनीले जग्गा खाली गरेन। यस विवादको मुद्दा जिल्ला अदालत हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो र २०७९ असार १३ गते उच्च अदालतले स्काउटको पक्षमा फैसला सुनाएको थियो।
फैसला कार्यान्वयनको लागि पटक-पटक अनुरोध गर्दा पनि कम्पनीले अटेर गरेपछि स्काउटले २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सहयोगमा संरचनामा सिलबन्दी गरेको थियो। तर कम्पनीले अझै भाडा चुक्ता नगर्दा स्काउटले अन्तिम कदमका रूपमा सम्पत्ति जफत गर्ने सार्वजनिक चेतावनी जारी गरेको हो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
