राजावादी गतिविधिमा सक्रिय दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएपछि उपत्यकामा सुरक्षा सतर्कता एकाएक बढाइएको छ। काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनले हिंसात्मक वातावरण बनाउनेगरी दिएको निर्देशनात्मक अभिव्यक्तिका आधारमा पक्राउ गरेको जनाएको छ।
गत २०८१ चैतमा भएको हिंसात्मक आन्दोलनपछि अदालतको आदेशमा छुटेका प्रसाईं पछिल्ला दिनमा पुनः आन्दोलनको तयारीमा थिए। उनले बैंक ऋण माफी लगायतका माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा सञ्चालन भइरहेको गतिविधिलाई लिएर प्रहरीले निरन्तर निगरानी गर्दै आएको थियो। सोहीबीच प्रहरीले काठमाडौँ उपत्यकाभरि उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि नै पक्राउविरुद्ध सडकमा उत्रिन सक्ने अनुमान प्रहरी स्रोतले गरेको छ। सम्भावित प्रदर्शन, झडप र थप अराजक गतिविधि रोक्न उपत्यकाका संवेदनशील स्थानमा थप बल परिचालन गरिएको छ।
पछिल्लो समय प्रसाईंले काठमाडौँ मेयर बालेन साह र उनको परिवारलाई लक्षित गर्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका थिए, जसले सुरक्षा निकाय थप सक्रिय बनेको प्रहरीले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
