नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने तयारी तीव्र पारिएको जानकारी दिएका छन्।
सर्लाहीको भ्रमणमा रहेका थापाले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्रको व्यापक छलफलपछि औपचारिक घोषणा गर्ने बताएका छन्। “म १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ। औपचारिक घोषणा प्रक्रिया सुरु गर्न लागिएको छ,” उनले बताए।
थापाका अनुसार महाधिवेशनले पार्टीलाई नयाँ सन्देश, नयाँ नीति र नयाँ नेतृत्व दिनुपर्ने आवश्यकता छ। त्यसैले देशभरका नेता, कार्यकर्ता र समर्थकहरूसँग परामर्श गर्दै पूर्वदेखि पश्चिमसम्म भ्रमण गर्ने तयारी भइरहेको छ। प्रारम्भिक चरणमा २०–२२ जिल्लामा पूर्व–पश्चिम राजमार्ग हुँदै पुग्ने योजना बनाइएको छ।
महामन्त्री थापाले कांग्रेसभित्रका अधिवेशनसम्बन्धी मतभेदहरू समाधान भइसकेको उल्लेख गर्दै ती अलमलहरूलाई आगामी निर्वाचनसँग मिश्रित गरेर नहेर्न आग्रह गरेका छन्। उनले थपे, “दलहरू निर्वाचनका लागि तयार छन्, अब सरकारले निष्पक्ष र उचित वातावरण सुनिश्चित गर्नुपर्छ।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
