नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका तयारीहरू अब अन्तिम चरणमा पुगेका छन्। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वमा रहेको टिम प्रतिनिधि सूचीकै अन्तिम रूप दिन व्यस्त छ।
अधिकारीका अनुसार महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि प्रदेश तथा जिल्लाबाट निर्वाचित भएर आउनेछन्। साथै केन्द्रबाट १ सय ८ प्रतिनिधि मनोनीत गरिने भएकाले कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ हुनेछ।
यसैगरी महाधिवेशनको बन्द सत्रमा प्रतिनिधि बाहेक ३ सय ५१ जना सल्लाहकार सदस्य सहभागीका रूपमा उपस्थित हुने व्यवस्था गरिएको छ। सल्लाहकार परिषद् कुल ३ सय ७६ सदस्य रहेकोमा २५ जना निर्वाचित प्रतिनिधिमा परेकाले बाँकी सदस्यहरू सहभागीका रूपमा प्रवेश पाउनेछन्। यससँगै महाधिवेशनमा प्रतिनिधि र सहभागी गरी कुल २ हजार ६ सय १३ जना उपस्थित रहने अनुमान गरिएको छ।
प्रतिनिधिहरूका लागि आवश्यक परिचयपत्र छपाइको काम पनि तीव्र गतिमा भइरहेको छ। हालसम्म करिब ७० प्रतिशत कार्ड छपाइ भइसकेको र आगामी मंसिर २५ गतेभित्र सबै कार्ड र व्यवस्थापन पूर्ण रूपमा सकेर तयारी सम्पन्न हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
आगामी महाधिवेशनलाई पार्टीभित्रको नेतृत्व, नीति तथा संरचना पुनर्संरचनाको महत्वपूर्ण मोडका रूपमा हेरिँदै आएको छ, र तयारीको चहलपहल बढ्दै जाँदा पार्टीभित्र महाधिवेशनको माहोल झनै तातिएको देखिन्छ।
