
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि विगतका सरकारले गरेको राजनीतिक प्रतिशोधलाई सच्याउन सरकारसँग औपचारिक माग राखेको छ। सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेको रास्वपा टोलीले निर्वाचनसँगै यो विषय उठाएको हो।
‘अधिक अभियोजन’ करेक्सन गर्नुपर्ने रास्वपाको धारणा
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा नेतृ सोविता गौतमले विगतमा लामिछानेमाथि गरिएको भनिएको अधिक अभियोजन र शक्तिको दुरुपयोगलाई सरकारले सच्याउनुपर्ने बताइन्। उनका अनुसार प्रधानमन्त्री र क्याबिनेटका मन्त्रीहरूले समेत राजनीतिक प्रतिशोध भएको स्वीकार गरिसकेको अवस्थामा त्यसको सीमा कति थियो भन्ने पहिचान गरी करेक्सन गर्नुपर्ने रास्वपाको माग छ।
“पद र पावर चाहिनेभन्दा बढी प्रयोग गर्नु पनि भ्रष्टाचारकै रूप हो,” गौतमले भनिन्, “हिजो सरकारले जुन किसिमको पावर एक्सरसाइज गरेर अधिक अभियोजन गर्यो, ती कुराहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर सरकारले सच्याइदिनुपर्छ भन्ने हाम्रो डिमाण्ड हो।”
उनका अनुसार भेटको मुख्य केन्द्र निर्वाचन भए पनि विगतको राजनीतिक प्रतिशोधका विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो।
निर्वाचन फागुन २१ मै हुनुपर्नेमा जोड
बालुवाटारमा भएको करिब दुई घन्टा लामो छलफलमा रास्वपाका नेताहरूले फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए। रास्वपाका नेता शिशिर खनालले प्रधानमन्त्रीसँग सरकारको निर्वाचन तयारीबारे विस्तृत छलफल भएको बताए।
“हामी निर्वाचन हुनेमा ढुक्क भएर अघि बढिरहेका छौँ,” खनालले भने, “सरकारको तयारीले साँच्चिकै फागुन २१ मै चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा आज बढी समसामयिक छलफल भयो।”
भेटमा सभापति लामिछानेले सरकार र जेन–जी समूहबीच भएको सम्झौता हुबहु कार्यान्वयन गर्न, निर्वाचन तयारी तीव्र बनाउन र निर्वाचन आयोगलाई आवश्यक स्रोत–साधन तत्काल उपलब्ध गराउन पनि आग्रह गरेका थिए।
‘सरकारले कसैलाई अन्याय हुन दिँदैन’ : सञ्चारमन्त्री
भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले कसैमाथि अन्याय हुन नदिने स्पष्ट पारेका छन्। प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “सरकारले कसैलाई अन्याय गर्दैन, कसैलाई अन्याय हुन पनि दिँदैन।”
उनले सरकार न्यायको पक्षमा, विधिको शासनको पक्षमा र कानुनी राजको पक्षमा दृढ रहेको बताए। मन्त्री खरेलका अनुसार भेटमा रास्वपाले चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने धारणा राखेको थियो। साथै निर्धारित समय फागुन २१ मै निर्वाचन हुनुपर्नेमा रास्वपाले स्पष्ट अडान राखेको उनले जानकारी दिए।
रास्वपा सभापति लामिछानेको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने, “रास्वपाले चुनावमा स्पष्ट रूपमा भाग लिन्छौं भनेको छ।”
प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच आइतबार राति ८ बजेदेखि १० बजेसम्म चलेको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत सहभागी थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
