२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ मत प्राप्त गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि सकिएसँगै देशको ध्यान अब नयाँ सरकार कहिले बन्छ भन्ने विषयतर्फ केन्द्रित भएको छ। गत बिहीबार सम्पन्न निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो दल बनेपछि आगामी सरकार सोही पार्टीको नेतृत्वमा बन्ने लगभग निश्चित भएको छ। रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि बढाएपछि अब उनको नेतृत्वमा सरकार गठन हुने तयारी भइरहेको छ।

पार्टीले बालेन शाहलाई संसदीय दलको नेता बनाएपछि उनलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको थियो भने बुधबार समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको हो।

रास्वपाको सरकार बन्ने निश्चित भएपछि पार्टीका शीर्ष नेताहरू सरकार गठनको गृहकार्यमा जुटेका छन्। उनीहरूले बालेनलाई प्रधानमन्त्री बनाउने र विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सांसदहरूलाई मन्त्री बनाउने विषयमा आन्तरिक तयारी थालेका छन्।

भावी सरकारको स्वरूपबारे रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच बिहीबार छलफल हुने तयारी गरिएको छ। पार्टीका एक नेताका अनुसार उनीहरूबीच हुने छलफल भावी सरकारको स्वरूप र मन्त्रिपरिषद् गठनका विषयमा केन्द्रित रहनेछ।

रास्वपाले चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको छ। पार्टीले बालेन शाहलाई संसदीय दलको नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन आयोगले राष्ट्रपति समक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएपछि मात्रै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुने बताइएको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच नयाँ सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ। उनले सभापति लामिछाने स्वास्थ्य समस्याका कारण विश्राममा रहेकाले गम्भीर छलफल केही समय ढिलो भएको जानकारी दिइन्।

रास्वपाका नेता शिशिर खनालका अनुसार समानुपातिक सांसद छान्ने प्रक्रिया सकिएपछि सरकार गठनबारे औपचारिक छलफल सुरु हुनेछ। “दुई–तीन दिन त्यसमा लाग्ला। सांसद कोको बन्ने छन् त्यस आधारमा बल्ल सरकार गठनबारे कुरा अघि बढ्छ,” उनले भने।

खनालले अहिलेसम्म अत्यन्त प्रारम्भिक र अनौपचारिक संवाद मात्रै भएको उल्लेख गर्दै एक–दुई दिनभित्र पार्टीभित्र औपचारिक छलफल सुरु हुने बताएका छन्।

बालेन शाह समानुपातिकतर्फको क्लस्टर मिलाउने विषयमा पनि आन्तरिक छलफलमा रहेको बताइएको छ।

यसबीच बालेन शाह नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने र उनीहरूलाई कसले छान्ने भन्ने विषयमा पनि चासो बढेको छ। खनालका अनुसार मन्त्री चयनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहकै मुख्य भूमिका रहने सम्भावना छ।

केही दिनअघि रास्वपा नेता असिम शाहले सामाजिक सञ्जालमार्फत मन्त्री बन्नका लागि दौडधुप वा प्रचार आवश्यक नरहेको बताएका थिए। उनले प्रधानमन्त्री नियुक्त भएपछि बालेन शाहले आफ्नो मन्त्रिपरिषद्‌को टोली आफैँ छनोट गर्ने उल्लेख गरेका छन्।

यसैबीच गैरसांसद विज्ञलाई मन्त्री बनाउने कि सांसदलाई नै मन्त्री बनाउने भन्ने विषयमा पनि बहस सुरु भएको छ। रास्वपाले कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा संसद् बाहिरका विज्ञलाई पनि मन्त्री बनाउने अवधारणा अघि सारेको बताइएको छ।

तर वर्तमान संवैधानिक व्यवस्थाअनुसार संघीय संसद् बाहिरका व्यक्तिलाई मन्त्री बनाइए पनि उनीहरू छ महिनाभन्दा बढी पदमा रहन सक्दैनन्। निरन्तरता दिन चाहिएमा उनीहरूलाई सांसद बनाउनु पर्ने हुन्छ, जुन अहिलेको अवस्थामा सजिलो नभएको नेताहरू बताउँछन्।

रास्वपाका नेताहरूका अनुसार पार्टीले सानो आकारको मन्त्रिपरिषद् बनाउने सोच राखेको छ। वाचापत्रअनुसार १८ सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव गरिए पनि पहिलो मन्त्रिपरिषद् करिब १५ सदस्यीय हुन सक्ने सम्भावना रहेको बताइएको छ।

यसका साथै पार्टी, सरकार र संसद्बीच समन्वय गर्न छुट्टै समिति गठन गर्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

प्रदेश संरचनाको विषयमा भने रास्वपाले संविधान संशोधनबिना कुनै ठोस निर्णय गर्न सम्भव नभएको बताएको छ। पार्टीले संविधान संशोधनसँग सम्बन्धित विषयमा ‘डिस्कसन पेपर’ तयार गर्न समिति गठन गर्ने योजना अघि सारेको जनाएको छ।

नेपालको संविधानअनुसार कुनै पनि संशोधनका लागि संघीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय