
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
मियामी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले जित निकाल्न अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो। नवप्रवेशी केप भर्डेले दुई पटक खेल बराबरीमा ल्याउँदै विश्वविजेतालाई कडा चुनौती दिएको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै केप भर्डेलाई बराबरीमा ल्याए।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको दोस्रो मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए। तर त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई दोस्रो पटक बराबरीमा फर्काए।
खेल २–२ को अवस्थामा पुगेपछि १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। सोही गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो।
उत्कृष्ट प्रदर्शन गरे पनि केप भर्डे साविक विश्वविजेतालाई रोक्न भने सफल भएन।
यो जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
