
पोखरामा यही सेप्टेम्बर २५ देखि २७ सम्म ‘ नोमाड बेसक्याम्प – २०२६’ आयोजना हुँदैछ। तीन दिनसम्म चल्ने यो कार्यक्रमले डिजिटल नोमाड, रिमोट वर्कर, स्टार्टअप संस्थापक, उद्यमी, लगानीकर्ता, सिर्जनाकर्ता तथा पर्यटन क्षेत्रका व्यक्तिलाई एउटै ठाउँमा जोड्ने लक्ष्य राखेको छ। कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा हुनेछ।
आयोजकका अनुसार यो परम्परागत सम्मेलनभन्दा फरक ‘वर्किङ फेस्टिभल’ हो। कार्यक्रममा व्यवसाय, प्रविधि, एआई, स्टार्टअप, रिमोट वर्क, वेलनेस, पर्यटन र नेपालका स्थानीय अवसरबारे छलफल हुनेछ। तीन दिनलाई विल्ड , लाईभ र एक्स्पोलर गरी तीन भागमा विभाजन गरिएको छ।
पहिलो दिन अर्थात् ‘विल्ड’ मा प्रविधि, एआई, स्टार्टअप, क्रिएटर र रिमोट वर्कसँग सम्बन्धित कार्यक्रम हुनेछन्। संस्थापक तथा लगानीकर्ताका सेसन, कार्यशाला, लगानीसम्बन्धी छलफल, स्टार्टअप पिचिङ र नेटवर्किङ कार्यक्रम राखिएको छ।
दोस्रो दिन ‘लाईभ’ अन्तर्गत जीवनशैली, स्वास्थ्य, ध्यान र समुदायमा केन्द्रित कार्यक्रम हुनेछन्। कार्यक्रममा भिक्षुसँग ध्यान, माइन्डफुलनेस सेसन, सांस्कृतिक आदानप्रदान तथा पोखरामा १० किलोमिटर दौड तथा हिँडाइ आयोजना हुनेछ। साँझ पोखराको दृश्य हेर्न सकिने स्थानमा कार्यक्रमसहितको पार्टी पनि राखिएको आयोजकले जनाएको छ।
तेस्रो दिन ‘एक्स्पोलर’ मा नेपालको पर्यटन, साहसिक गतिविधि, व्यवसाय र स्थानीय साझेदारीका विषयमा छलफल हुनेछ। नेपालमा पर्यटनको भविष्य, लगानी र स्थानीय व्यवसायसँग सहकार्यका विषयमा कार्यक्रम हुनेछन् भने विश्व पर्यटन दिवसको अवसरमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ।
कार्यक्रममा नेपालसहित विभिन्न देशका डिजिटल नोमाड, फ्रीलान्सर, उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, पर्यटन व्यवसायी र विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार २०२५ को पहिलो संस्करणमा ३० भन्दा बढी देशका १५० भन्दा बढी सहभागी तथा २५ भन्दा बढी वक्ता सहभागी भएका थिए।
यस वर्ष सहभागीका लागि चार प्रकारका पास राखिएका छन्। नेपाली बासिन्दाका लागि एक्स्पोलर पास ५ हजार रुपैयाँ तोकिएको छ। यसमा तीन दिनको फेस्टिभल प्रवेश, सबै वार्ता, कार्यशाला, प्यानल तथा नेटवर्किङ कार्यक्रम र सहभागिताको प्रमाणपत्र समावेश छ। बसोबास, खाना र विमानस्थलबाट ल्याउने–लैजाने सुविधा भने यसमा समावेश छैन।
त्यस्तै, भोएजर पास २० हजार रुपैयाँ को छ। यसमा तीन रातको तीनतारे होटल बसाइ, दैनिक दिउँसोको खाना, विमानस्थलबाट पिकअप तथा स्वागत सामग्री समावेश छन्। एडभेन्चर पास ४० हजार रुपैयाँ मा पोखरा भ्रमण, अन्नपूर्ण केबलकार र फेवातालमा आधा दिनको कायाकिङ पनि समावेश गरिएको छ।
सबैभन्दा महँगो लिजेण्ड पास १ लाख ५० हजार रुपैयाँ को छ। यसमा चार रातको चारतारे होटल बसाइसँगै अन्नपूर्ण बेस क्याम्प ट्रेक, गाइड, आवश्यक अनुमति र पोर्टर सहयोग समावेश गरिएको आयोजकले जनाएको छ।
आयोजकले पोखरालाई काम र यात्रालाई एकैसाथ अघि बढाउन सकिने गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। फेवाताल, अन्नपूर्ण हिमशृंखला, क्याफे, को-वर्किङ स्पेस र पर्यटन गतिविधिका कारण पोखरा डिजिटल नोमाड तथा रिमोट वर्क गर्नेहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने आयोजकको धारणा छ।
कार्यक्रममा सहभागी हुन चाहनेले नोमाड बेसक्याम्प – २०२६ को आधिकारिक वेबसाइट बाट कार्यक्रम र टिकटसम्बन्धी थप जानकारी लिन सक्नेछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
