प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर भएका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ । त्यसका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ ।
इजलासमा न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी रहनेछन् ।
सर्वोच्च अदालतमा संसद् विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी गरी हालसम्म १६ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमा आजदेखि एकमुष्ट प्रारम्भिक सुनुवाइ सुरु हुने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
रिटकर्ताहरूले प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै ती दुवै निर्णय बदर गर्न माग गरेका छन् । साथै, संसद् पुनःस्थापना गर्न परमादेश आदेश जारी गर्न माग गरिएको छ ।
भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछिको परिस्थितिमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीले त्यसपछि प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते चुनाव मिति तोकेकी थिइन् ।
