२४ कार्तिक २०८२,
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै काठमाडौं प्रस्थान गरेकी छन् । उनी बिहान चार बजेतिर मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंतर्फ प्रस्थान गरेकी हुन् ।
उनलाई मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।
सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते पदबाट राजनीनामा दिएका थिए ।
प्रदेश प्रमुख भण्डारीले उनको राजिनामा स्वीकृत गरिसकेकी छन् तर अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन् ।
उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेताहरुलाई छ । यही आशंकाका साथ गठबन्धनका नेता–कार्यकर्ताहरुले आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए ।
साथै शनिबार बेलुकी नै गठबन्धनका नेताहरुले प्रदेश प्रमुख भण्डारी लाई भेटेर छलफल गरेका थिए । प्रदेश प्रमुख भण्डारीलाई बिदा गरेर बाहिरिने क्रममा मुख्यमन्त्री सोनलसँग पत्रकारहरुले सात दलीय गठबन्धनका नेताहरुको आशंका गरिरहेको सन्दर्भमा प्रदेश प्रमुख उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गर्नुको कारणबारे सोधेका थिए ।
