नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ। महाधिवेशन उद्घाटन हुनुअघि शनिबार सूची सार्वजनिक गरिएको हो।
शुक्रबार बसेको एमाले सचिवालय बैठकमा मनोनयनको विषयमा सहमति जुट्न नसकेपछि यसको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको थियो। उनीहरूकै पहलमा अन्ततः १०८ जना प्रतिनिधि मनोनयन गरिएको एमालेले जनाएको छ तर मनोनीत १०८ जना प्रतिनिधिको सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ। अध्यक्षका आकांक्षी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले उक्त सूचीप्रति औपचारिक रूपमा असहमति जनाएको छ ।
एमाले विधानअनुसार कुल प्रतिनिधिको ५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ। यसअघि देशभरबाट २ हजार १५४ जना प्रतिनिधि निर्वाचन प्रक्रियाबाट चयन भइसकेका थिए। १०८ जना थपिएसँगै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुगेको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित चौरमा केहीबेरमा औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटनअघि विभिन्न स्थानबाट आएका नेता तथा कार्यकर्ताहरूले जुलुससमेत निकालेका छन्।


वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
