नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं ५ का उम्मेद्वार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ स्थानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन्।
पार्टीको गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ।
पार्टीले दिएको जानकारी अनुसार ११:४५ बजे पेट्रोलपम्पमा, १२:३० बजे डिठा चौकमा र १ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ।
यसैगरी १:३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ। यस्तै २:३० बजे बैराती, ३ बजे जुरोपानी र ३:३० बजे ग्वालडुब्बामा भेटघाट कार्यक्रम तय गरिएको छ। ४:१५ बजे जामबाडी र ४:४५ बजे जयबहादुर अधिकारी टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए।
अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाट कार्यक्रममा मतदाताका समस्या सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउने भएका छन्। अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा रहेका भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका समस्यालाई बढी उठाउने गरेका छन्।
अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहको बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा मतदातासँग भेटघाट गरेका थिए।
