
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले चैत महिनादेखि महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तभित्र सम्पन्न गर्ने प्रस्ताव पेस गरेका हुन्।
प्रस्तावअनुसार चैत मसान्तसम्म पार्टी सदस्यता फारम सबै तहमा पुर्याइनेछ। सदस्यता वितरण र अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने योजना रहेको छ।
वैशाख महिनादेखि क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया सुरु गरिनेछ। असार १५ गतेसम्म केन्द्रले क्रियाशील सदस्यताको छानबिन सम्पन्न गर्नेछ भने असार मसान्तसम्म सदस्यता विवरण निर्वाचन समितिलाई बुझाइने कार्यतालिका रहेको छ।
त्यसपछि साउन महिनाभरि विभिन्न तहका अधिवेशनहरू चरणबद्ध रूपमा सञ्चालन गरिने प्रस्ताव गरिएको छ। यसअनुसार साउन ६ गते गाउँ तथा नगर वडा अधिवेशन, साउन १२ गते गाउँ/नगरपालिका अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्र अधिवेशन र साउन ३० गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन गर्ने योजना छ।
त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारिएको छ।
कांग्रेसले गत पुस महिनामा विशेष महाधिवेशन सम्पन्न गरिसकेको छ। पार्टी विधानअनुसार एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार यो कार्यतालिका ल्याइएको हो।
यसअघि कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो। प्रस्तुत कार्यतालिका पारित भएमा आगामी महिनादेखि नै पार्टीको संगठनात्मक अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढ्नेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
