
बुधबार साँझ पाटन दरबार स्क्वायर क्षेत्रमा भएको चक्कु प्रहारको घटनामा दुई दाजुभाइको ज्यान गएको छ।
ज्यान गुमाउनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्। उनीहरू ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटना सामान्य फोनसम्बन्धी विवादबाट सुरु भएको थियो। एकजनालाई गरेको फोन अर्कैको नम्बरमा पुगेपछि उत्पन्न विवाद मिलाउन दाजुभाइ पाटन पुगेका थिए। उनीहरू दुवै पक्ष एकअर्कासँग अपरिचित रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गल्ती भएको भन्दै माफी माग्न र कुरा मिलाउन पुगेका दाजुभाइमाथि त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक चक्कु प्रहार गरेका थिए। पहिलो प्रहार सिर्जनमाथि भएको थियो। भाइमाथि आक्रमण भएपछि छुट्याउन गएका दाइ सुमितमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि सातदोबाटो वृत्त र पुल्चोक प्रभागबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुवै जना घाइते अवस्थामा ढलेका थिए भने आक्रमणकारी चक्कु लिएर भाग्ने प्रयासमा थिए।
प्रहरीका अनुसार भाग्दै गरेका सञ्जीवलाई नजिकैको एक रेष्टुरेन्टमा लुकेको अवस्थामा महिला प्रहरीले नियन्त्रणमा लिएकी हुन्। पक्राउ गर्ने क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेका थिए।
घाइते दाजुभाइलाई तत्काल ग्वार्कोस्थित बीएन्डबी अस्पताल लगिएको थियो। तर अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार दाजुभाइ आफ्ना बुबासँग इमाडोलमा बस्दै आएका थिए। उनीहरूको आमा लन्डनमा रहेको र उनीहरू पनि आमालाई भेट्न लन्डन जाने तयारीमा रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
