
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार उनका विभिन्न बैंक खातामा ठूलो मात्रामा मौज्दात, घरजग्गा, सेयर, सुनचाँदी तथा सवारी साधन रहेको देखिएको छ ।
मन्त्री श्रेष्ठका अनुसार काठमाडौंमा उनका दुई वटा घर रहेका छन् । वडा नम्बर २४ मा रहेको घर उनी आफ्नै नाममा रहेको छ भने वडा नम्बर १३ मा रहेको अर्को घर विकास श्रेष्ठको नाममा रहेको विवरणमा उल्लेख छ । पहिलो घर दुई आना र दोस्रो घर चार आना क्षेत्रफलमा रहेको जनाइएको छ । उनले सगोलको सम्पत्ति बिक्री गरेर घर बनाएको पनि खुलाएका छन् ।
बैंक मौज्दाततर्फ मन्त्री श्रेष्ठसँग आठ वटा बैंक तथा वित्तीय संस्थामा गरी कुल ८० लाख ४० हजार ११७ रुपैयाँ रहेको छ । त्यसमध्ये केही रकमको स्रोत स्वआर्जन भएको उल्लेख छ भने सहकारी तथा अन्य खातामा पैतृक र अन्य स्रोतबाट प्राप्त रकम पनि देखाइएको छ । सिनर्जी कोअपरेटिभ लि. मा रहेको १५ लाख रुपैयाँ पैतृक र २५ लाख रुपैयाँ पैतृक, विवाह तथा स्वआर्जन स्रोतबाट रहेको विवरणमा जनाइएको छ ।
सेयर लगानीतर्फ मन्त्री श्रेष्ठसँग विभिन्न कम्पनीमा गरी १ करोड ४५ लाख रुपैयाँभन्दा बढी मूल्यको २० हजार ९ सय ७८ कित्ता सेयर रहेको उल्लेख छ ।
त्यस्तै, सुनचाँदीतर्फ उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ, जसको स्रोत पैतृक तथा विवाह भएको जनाइएको छ ।
सवारी साधनतर्फ मन्त्री श्रेष्ठसँग ल्यान्डक्रुजर, स्कुटर र विद्युतीय कार रहेको छ । उनले ल्यान्डक्रुजर ८ लाख ५० हजार रुपैयाँमा, स्कुटर २ लाख ४६ हजार रुपैयाँमा र विद्युतीय गाडी १९ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख गरेका छन् ।
ऋणतर्फ उनले बुवाबाट २० लाख रुपैयाँ, नबिल बैंकबाट गाडी खरिदका लागि ३० लाख रुपैयाँ तथा सिनर्जी कोअपरेटिभबाट ३५ लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।
यसैगरी मन्त्री श्रेष्ठसँग ३ लाख रुपैयाँ बराबरका ब्रान्डेड घडीहरू पनि रहेको विवरणमा उल्लेख गरिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
