
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका अवसरमा सभापति रवि लामिछानेसहित सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन्।
शुभकामना सन्देश जारी गर्दै थापाले रास्वपा स्थापना भएको छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाउन सफल भएको बताएका छन्। उनले सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
थापाले महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व तथा दूरदर्शी बन्ने ऐतिहासिक अवसर भएको बताएका छन्। साथै लोकतान्त्रिक मूल्य, अभ्यास र संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टी थप स्पष्ट, जवाफदेही र उत्तरदायी बन्ने विश्वास व्यक्त गरेका छन्।
उनले महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने अपेक्षा गर्दै रास्वपाको आगामी राजनीतिक यात्रा सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा थापाले सभापति रवि लामिछाने तथा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै ‘जय नेपाल’ उल्लेख गरेका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा नेता–कार्यकर्ताहरू सहभागी भएका छन्। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
