
विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि चरम श्रम शोषण भएको आरोप लगाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’ गठन गरेर उनीहरूले प्रशिक्षार्थी चिकित्सकको काम गर्ने समय श्रम ऐन, २०७४ अनुसार व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका हुन्।
उनीहरूको मागअनुसार इन्टर्न तथा आवासीय चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ। साथै, हरेक हप्ता कम्तीमा एक दिन अनिवार्य बिदाको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।
प्रदर्शनकारी चिकित्सकहरूले हाल आफूहरूलाई तोकिएको समयभन्दा धेरै घण्टा काममा खटाइँदै आएको गुनासो गरेका छन्।
उनीहरूले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग पनि राखेका छन्।
यस्तै, नेपाल सरकारले बजेट भाषणमार्फत घोषणा गरेको तलबवृद्धि तथा विगतमा भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको तलब तत्काल कार्यान्वयन गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।
प्रदर्शनकारीहरूले एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस तथा एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभवको व्यवस्था पनि खारेज गर्नुपर्ने माग अघि सारेका छन्।
आफ्ना मागको सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
