
नयाँ आर्थिक वर्षसँगै सञ्चालनमा ल्याउने तयारी गरिएको नयाँ सर्भर पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा देशभरका यातायात व्यवस्था कार्यालयको सेवा प्रभावित भएको छ। सर्भर समस्याका कारण लाइसेन्स नवीकरण, वितरणलगायतका सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सोमबार सूचना जारी गर्दै नयाँ प्रिन्ट भएका लाइसेन्स लिन आउनेबाहेक अन्य सेवाग्राहीलाई शुक्रबारपछि मात्र कार्यालय आउन अनुरोध गरेको थियो।
सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरेको इडिएलभिआरएस (EDLVRS) प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा सेवा प्रभावित भएको कार्यालयले जनाएको छ। यसअघि सोमबारदेखि नयाँ सर्भर सञ्चालनमा आउने जानकारी दिइए पनि प्राविधिक समस्या समाधान हुन नसकेपछि पुनः अर्को सूचना जारी गरिएको थियो।
सूचनाबारे जानकारी नपाएका धेरै सेवाग्राही मंगलबार पनि कार्यालय पुगेका थिए। तर सेवा नपाएपछि उनीहरू निराश हुँदै फर्किएका थिए।
एकान्तकुना यातायात व्यवस्था कार्यालयका प्रमुख केशवकुमार जिएमका अनुसार अहिले देशभरका यातायात कार्यालयमा यही समस्या देखिएको छ। नयाँ सर्भर सञ्चालनको प्रक्रिया जारी रहेकाले केही समय लाग्ने र पूर्ण रूपमा सञ्चालनमा आएपछि सेवा पहिलेभन्दा सहज हुने उनले बताए।
असार मसान्त र नयाँ आर्थिक वर्षको सुरुआतमै सवारी कर, लाइसेन्स नवीकरण तथा अन्य प्रशासनिक सेवाका लागि सेवाग्राहीको चाप बढ्ने समयमा सर्भर अवरुद्ध हुँदा सेवाग्राही थप समस्यामा परेका छन्। शुक्रबारसम्म नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको भए पनि त्यसबारे अन्तिम टुंगो लागिसकेको छैन।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
